यस कारण रक्सी छोड्नुपर्छ



मदिराको हानिकारक सेवनले उच्च रक्तचाप हुने, मुटुका रोगहरु हुने, मस्तिष्कघात हुने, कलेजोका रोगहरु हुने, पाचनसम्बन्धी समस्या हुने हुन्छ । साथै मुख, स्तन, घाँटी, कलेजो, कोलोन आदिको क्यान्सर हुनेलगायत २०० भन्दा बढी रोग लगाउन सक्ने र दुर्घटना एवं चोटपटक लाग्ने अवस्था सिर्जना गराउँछ । तर पनि मानिसले रक्सी खान भने छोडेको पाइँदैन । रक्सी सेवनको शुरुवातसँगै यसको मात्रा बढाउँदै लगी अनियन्त्रितरुपमा सेवन गर्न थाल्छ र रक्सीविना केही नै गर्न नसक्ने अवस्थामा मानिस पुग्छ ।

विश्व स्वास्थ्य संघका अनुसार प्रत्येक वर्ष करिब ३० लाख मानिसको मृत्युको कारण मदिराको हानिकारक सेवन भएको पाइएको छ । यो भनेको मानिसको सम्पूर्ण मृत्युको ५.३ प्रतिशत हो । यसका साथै मदिराको अधिक उपभोगले मानिसको मृत्यु र अशक्तता छिटो हुने हुन्छ । २० देखि ३९ वर्ष उमेर समूहका मानिसको कुल मृत्युमध्ये करिब १३.५ प्रतिशत मृत्यु मदिराको अधिक प्रयोगका कारण भएको पाइएको छ । यो भनेको निकै ठूलो संख्या हो । साथै मदिराको अधिक सेवनका कारणले व्यक्ति र समाजलाई सामाजिक र आर्थिक क्षति पनि निकै नै पुग्छ । वास्तवमा यसको त लेखाजोखा नै गरिएको छैन ।

मानिसको बानी–व्यहोरा तथा मानसिक स्वास्थ्य एवं अन्य नसर्ने खालका रोगहरु र मदिराको अधिक सेवनका बीच गहिरो सम्बन्ध रहेको हुन्छ । मदिराको निरन्तर सेवन गर्न थालेपछि पछि लत लागेर मदिरा सेवन नगरी केही नै गर्न नसकिने बनाउँछ । साथै मदिराको अधिक प्रयोगले लिभर सिरोसिस, केही प्रकारका क्यान्सर तथा कार्डियो भास्कुलर डिजिजलगायत नसर्ने खालका प्रमुख रोगहरु लाग्ने खतरा पनि ज्यादै हुन्छ । यस्तै गरी हिंसा र आत्महत्या गराउनमा पनि मदिरा धेरै हदसम्म जिम्मेवार रहेको छ । विशेष गरी युवाहरुमा मदिराको अधिक सेवनले चोटपटक धेरै लाग्ने र मृत्यु हुने गरेको पाइएको छ । सवारी दुर्घटनामा मदिरा सेवनको ठूलो हात हुने गरेको पाइन्छ ।

वास्तवमा मदिरा विश्वकै लागि एउटा ठूलो रोगको बोझ तथा समस्याको रुपमा रहेको छ । यसले सामाजिक र आर्थिकरुपमा घातक प्रभाव पारेको हुन्छ । मदिराको अधिक प्रयोगले व्यक्तिलाई मात्र नभई परिवारका सदस्य, साथीहरु, सहकर्मीहरुलाई पनि हानि पु¥याउँछ । सवारी दुर्घटनाको एउटा प्रमुख कारणका रुपमा मदिरालाई लिइन्छ, जसको अधिक सेवनले सवारीसाधन दुर्घटना पर्ने र मानिसको मृत्यु हुने गरेको छ ।

मदिरा सेवन किन गरिन्छ ?

मदिरा सेवन मानिसको स्वास्थ्यका लागि हानिकारक छ भन्ने ज्ञान हुँदाहुँदै पनि मानिसले विभिन्न ब्रान्ड र स्तरका मदिरा सेवन गरिरहेको हुन्छ । मदिराका लागि आफ्नो आम्दानीको ठूलो हिस्सा खर्च गरिरहेको हुन्छ । वास्तवमा मानिस किन मदिराप्रति आकर्षित भइरहेको होला त ? विशेषज्ञहरुका अनुसार आफ्नो चेतनाको स्तर ९भिखभ िया अयलकअष्यगकलभकक० लाई परिवर्तन गर्न मानिसले मदिराजस्ता नसालु पदार्थ खाने गर्छन् । नसालु पदार्थ दुई किसिमका छन् । एउटा हाम्रो होसलाई चनाखो बनाउने र अर्को दिमाग सुस्त बनाएर आनन्दको अनुभूति गराउने अर्थात् चेतन अवस्थालाई परिवर्तन गर्ने । मूलतः यिनै प्रयोजनका लागि मानिसले परापूर्वकालदेखि नै मदिराको प्रयोग गर्दै आएका छन् ।

रक्सीले दिमाग सुस्त बनाउने, चेतनालाई कमजोर बनाउने गर्छ । त्यसैले रक्सी खाँदा लाज–सरम नमान्ने, धेरै बोल्ने, उत्तेजित हुने हुन्छ । नसालु वस्तुको सेवनले दिमागको ब्रेक छोडिदिएपछि दौडेको जस्तो हुन्छ, यसले दुर्घटनातिर लैजान्छ । ‘कुनै कार्य गर्नुहुँदैन’ भनेर नियन्त्रण गर्ने ब्रेक लुज भइदिएपछि बढी बोल्ने, उत्तेजित हुने गर्छन्, रमाइलो अनुभव गर्छन् । लगातार लामो समय प्रयोग गर्दा खाने बानी पर्दै जान्छ । संसारभर नै प्राकृतिकरुपमा उपलब्ध हुँदै आएको र बजारमा पनि सहजै पाउने भएकोले जाँडरक्सी सवै मानव सभ्यतामा प्रयोग हुँदै आएको छ । रक्सीले चिन्ता, पीडालाई अस्थायीरुपमा बिर्साउँछ तर त्यो समाधान होइन । यसले रक्सीको लतका साथै अरु समस्या जन्माउँछ ।

धेरै मानिसले जाँडरक्सीबाट मुटु, कलेजोमा मात्र असर गर्छ भन्ने बुझेका हुन्छन्, तर शारीरिकरुपमा यसले असर नपार्ने मानिसको कुनै अंग नै छैन भन्दा पनि हुन्छ । शरीरको छाला, मांसपेशी, रक्तसञ्चार प्रणाली, मिर्गौला, फोक्सो, पाचन प्रणाली आदि शरीरका सबै अंग तथा शारीरिक प्रणालीमा मदिराले असर गर्छ । बढी सेवन गरेपछि दिमागलगायत शरीरका सबै प्रणालीलाई बिगार्छ । लामो समयसम्म मदिरा सेवन गर्दै जाँदा मानिसको शारीरिक र मानसिक अवस्थामा नै एक किसिमको परिवर्तन आउँछ । यसले गर्दा उसलाई सामान्य हुनका लागि पनि मदिरा सेवन गर्नै पर्ने हुन्छ । यस्तो अवस्थामा पुगेको मानिस रक्सी खाँदा बरु ठीक अवस्थामा हुन्छ, तर नखाँदा स्थिति बिग्रिन जान्छ । यस्तो अवस्थालाई डिपेन्डेन्स अर्थात् दुव्र्यसनको अवस्था भन्ने गरिएको छ ।

यो अवस्थामा उसको शरीर, दिमागले केही काम गर्न सक्तैन । सामान्य हुनका लागि पनि उसले खानै पर्ने हुन्छ । खाएन भने ऊ असामान्य हुन्छ । यो अवस्था परिवार तथा व्यक्तिको लागि पनि ज्यादै कठिन अवस्था हुन जान्छ । अर्कोतिर मदिराको हानिकारक सेवनको कारण उसलाई अरु रोगहरु भइरहेको हुन्छ । कतिपय त जाँडसक्सीका कारण बेहोस भएको अवस्था, दुर्घटनामा परेको अवस्था, लिभर सिरोसिस भएर रगत बान्ता हुने गरेको अवस्था र दिसामा रगत जाने भएपछिको अवस्थामा बल्ल डाक्टरकहाँ पुगेका हुन्छन् ।

मदिरा मानव समुदायमा परम्परागतरुपमा प्रयोग हुँदै आएको छ । कतिपय समुदायमा मदिरा सदियौँदेखि संस्कृतिसँग जोडिएको छ । हरेक सांस्कृतिक कार्यहरुमा मदिराको प्रयोगलाई अनिवार्य आवश्यकताको रुपमा प्रयोग गर्ने गरिएको छ । एउटा निश्चित मात्रामा परम्परामात्र धान्ने गरी रक्सीको सेवन गर्नुलाई आपत्ति जनाउनुपर्ने कारण छैन । तर रक्सीको अधिक सेवन गर्नु, लत लाग्ने गरी सेवन गर्नु शारीरिक र मानसिक स्वास्थ्यका दृष्टिले मात्र होइन सामाजिक र आर्थिक दृष्टिले पनि ज्यादै हानिकारक भएकाले यसको सेवन नगर्नु नै ठीक हो ।
स्रोत: विश्व स्वास्थ्य संघ र अन्य

प्रतिक्रिया दिनुहोस्