बसेर पिसाब फेर्नु स्वस्थकर



काठमाडौं ।

आजकल शहरबजारका सार्वजनिक शौचालयहरु पुरुषहरुका लागि उठेरै पिसाब गर्नुपर्ने गरी बनाइएका हुन्छन् । त्यसैले अधिकांश पुरुषले उठेरै पिसाब फेर्ने गरेको पाइन्छ । खासमा टुक्रुक्क बसेर पिसाब फेर्नु स्वास्थ्यप्रद हो । यसरी पिसाब फेर्नु हाम्रो पूर्वीय परम्परा पनि हो ।

महिलाहरूले भने उभिएर पिसाब फेर्न नमिल्ने भएकाले जस्तोसुकै परिस्थितिमा पनि बसेर पिसाब फेर्ने गरेको पाइन्छ । स्वास्थ्यका हिसाबले यो सकारात्मक पक्ष हो । उठेर पिसाब फेर्ने पश्चिमी शैलीभन्दा बसेर पिसाब फेर्ने पूर्वीय शैली निकै स्वस्थकर रहेको कोलकातास्थित विवेकानन्द चिकित्सा विज्ञान प्रतिष्ठानका स्नायु विशेषज्ञ अमर चक्रवर्तीले केही वर्षअगाडि एक कन्फरेन्समा बताएका थिए ।

उनका अनुसार बसेर भन्दा उठेर पिसाब फेर्नेहरू बेहोस हुन सक्ने सम्भावना बढी हुन्छ । अधिकांश पुरुषहरूले उठेर पिसाब फेर्ने क्रममा आँखाअगाडि अँध्यारो छाउने र रिँगटा लाग्ने सिकायत गरेका छन् ।

स्नायु विशेषज्ञ चत्रवर्तीले एक न्युरोलोजी कन्फरेन्समा प्रस्तुत गरेको प्रतिवेदनमा पिसाब फेर्दा मानवशरीरमा रगत शरीरको तल्लो भागमा बग्ने हुँदा बसेर पिसाब फेर्दा मस्तिष्कमा रगतको अभाव नहुने जनाएका थिए । बसेर पिसाब फेर्दा पिसाब एकै ठाउँमा पर्ने हुँदा प्रदूषणबाट पनि बच्न सकिन्छ । त्यसैले बसेरै पिसाब फेर्नु धार्मिक एवं वैज्ञानिक दुवै हिसाबले राम्रो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्