हाइड्रा फेसियलको बढ्दो क्रेज



सुष्मा महरा

अनुहारको स्याहारसँगै सौन्दर्य बढाउने उपायमध्ये फेसियल पनि एक हो । अहिले बजारमा हाइड्रा फेसियल भनेर धेरै नै सुन्नमा आइरहेको छ । सामाजिक सञ्जाल तथा न्यु मिडियाको यो जमानामा टिकटक, फेसबुक, इन्स्टाग्रामजस्ता सामाजिक

सञ्जालमा हाइड्रा फेसियलको बारेमा बनाइएका भिडियोहरु हेर्नेहरु धेरै हुन्छन् । यस्ता भिडियो हेरेर हाइड्रा फेसियल गरेमा एकैछिन्मा नतिजा आउँछ, अनुहारमा साइनिङ र ग्लो तुरुन्तै आउँछ भन्ने धारणा धेरैले बनाएको पाइन्छ । हाम्रो फेसियल हाउसमा पनि हाइड्रा फेसियलबारे सोध्ने धेरै कस्टमर आउने गर्नुहुन्छ ।

धेरैजसो कस्टमरहरु के सामाजिक सञ्जालमा देखाइएको भिडियोहरुमा जस्तै हाइड्रा फेसियलमा तुरुन्तै अनुहारमा ग्लो आउँछ त ? भनेर सोध्ने गर्नुहुन्छ । यसले पनि धेरैमा हाइड्रा फेसियलबारे कौतुहलता रहेछ भन्ने स्पष्ट हुन्छ । हो, हाइड्रा फेसियल गर्दा हाम्रो स्किनमा ग्लो आउँछ । जसको स्किनमा चमक नै छैन, स्किन डल छ भने उनीहरुको लागि यो हाइड्रा फेसियल एकदमै प्रभावकारी छ ।

तर हाइड्रा फेसियल कसले गर्ने भन्ने कुरामा चाहिँ कस्टमर भन्दा पनि ब्युटिसियनहरु आफैँमा अझै पनि कन्फ्युज भएको देखिरहेकी छु । सामाजिक सञ्जालमा हेर्दै कसैले एलोभेरा जेलले मात्र, कसैले सिरमले मात्र र कसैले चाहिँ फेसियल किटले हाइड्रा फेसियल गरेको देखिन्छ ।

अथुएन्टिक रुपमा हाइड्रा फेसियल गर्नुपर्दाचाहिँ अनुहारको प्रकार अनुरुपको सिरमले गर्नुपर्छ । हाइड्रा फेसियल नयाँ प्रविधि प्रयोग गरी पेनजस्तो मेसिनले मात्र गरिने फेसियल हो । यसरी सिरम हालेर अनुहारमा मेसिन चलाउँदा मेसिनले के–के गर्छ भन्ने कुराचाहिँ बुझेर मात्र फेसियल गर्न आउँदा राम्रो हुन्छ ।

सिरम हालेर फेसियल गर्दा यसले अनुहारको डिप क्लिन गर्छ, अक्सिजनलाई भित्रसम्म पुर्‍याउनुका साथै मृत सेल्सहरुलाई पनि निकालिदिन्छ ।

हाइड्रा फेसियल गर्दा पेनजस्तो मेसिनले सिरमलाई हाम्रो अनुहारमा पेनिटेड हुन अथवा भित्रसम्म पुर्‍याउन मद्दत गर्छ । सिरम मजाले स्किनभित्र छिरिसकेपछि हाइड्रेड हुन्छ र स्किनमा छुट्टै चमक आउँछ ।

 

नर्मल फेसियलभन्दा हाइड्रा फेसियलले हाम्रो स्किनमा चार गुणा छिटो काम गरी अनुहारको छालालाई पोषण दिन्छ ।

हाइड्रा फेसियलले हाम्रो स्किनलाई हाइड्रेट र रिजेनरेट गर्ने भएकाले फेसियल गर्नुपर्दा त्यति धेरै सोच्नुपर्दैन, झन् ओपन पोर्स भएकाहरुले नियमित फेसियल गर्दा ओपन पोसको समस्या पनि बिस्तारै कम हुँदै जान्छ । हाइड्रा फेसियल गर्दा हाम्रो स्किनलाई कुनै साइड इफेक्ट नगर्ने भएकाले पनि बढी सोचिराख्नु जरुरी छैन ।

तर यो फेसियल गर्ने बेलामा आफ्नो स्किन कस्तो छ भनी बुझेर स्किन अनुसारको सिरम प्रयोग गर्नुपर्छ । मेसिन प्रयोग गर्दा पनि स्किनको प्रकार र अवस्था अनुसार मुभमेन्टहरु चेन्ज गर्नुपर्ने हुन्छ ।

कसैको स्किनमा रिङ्कल हन्छ, कसैकोमा बढी मात्रामा डेड सेलहरु हुन्छन् भने कसैकोमा बढी ओपन पोर्सको समस्या हुने भएकाले सबै प्रकारको स्किनमा एकै प्रकारको मुभमेन्ट र सिरम प्रयोग गर्न मिल्दैन । त्यही कारण प्रोफेसनल व्यक्तिबाट गरिएको हाइड्रा फेसियल हाम्रो अनुहारका लागि उपयोगी हुन्छ ।

 

कस्ता व्यक्तिले हाइड्रा फेसियल गर्नुहुँदैन ?

यो फेसियल प्रायः सबै प्रकारको स्किनमा गर्न मिल्छ भनिए तापनि मचाहिँ पिम्पल तथा एक्ने आएको स्किनमा नगर्नुस् भन्ने सल्लाह दिन्छु । जसको स्किन एकदमै डल छ, अनुहारमा साइनिङ छैन र तुरुन्तै पार्टीमा जानु छ भने छिटो चमक ल्याउनका लागि यो फेसियल गरिन्छ । तर पिम्पल भएको स्किनलाई चाहिँ सुकाउनुपर्ने हुन्छ र यसमा सुकाउने तत्व नभएको कारण पिम्पल भएको स्किनमा यो फेसियल नगर्नु नै राम्रो हुन्छ ।

त्यस्तै गर्भवती महिलाहरुले पनि यस किसिमको फेसियल नगर्न सल्लाह दिन्छु । किनभने यो फेसियल मेसिनले गर्ने भएकाले पेटमा रहेको भ्रूणलाई असर गर्छ । यस्तो बेला बाहिरी सुन्दरतालाई केही समय थाती राखेर शारीरिक अवस्थालाई ध्यानमा राख्नु राम्रो हुन्छ । गर्भावस्थामा हाइड्रा फेसियल मात्र नभई कुनै पनि मेसिन प्रयोग गरेर गरिने सौन्दर्य प्रविधिको प्रयोग नगर्नु नै राम्रो हुन्छ ।

हाइड्रा फेसियल महँगो छ ?

हाइड्रा फेसियल गर्दा सिरम नै चलाउनुपर्ने भएकाले यो अन्य फेसियलभन्दा महँगो पनि हुन्छ । बजारमा हाइड्रा फेसियलको सेवा शुल्क २ हजार-२५ सयबाट शुरु भएर १५ हजार रुपियाँसम्मको छ । यसमा प्रयोग गरिने सिरम नेपाली बजारमा सजिलै नपाइने भएकाले नेपालमा धेरैले एलोभेरा जेल तथा नर्मल मार्केटमा पाइने सिरम तथा फेसियल किटहरुबाट पनि हाइड्रा फेसियल गरेको पाइन्छ । तर राम्रो रिजल्टका लागि भने अथुएन्टिक सिरमहरुकै प्रयोग गर्न सके हाम्रो स्किनमा प्रभावकारी नतिजा देखिन्छ ।

धेरै कस्टमरलाई चाहिँ ठूलो ठाउँ भएर महँगो हुने र सानो ठाउँ भएर सस्तो भएको भन्ने लाग्छ । तर शुल्कमा फरक हुनु भनेको यसमा प्रयोग गरिने सिरमका कारण हो । अथूयन्टिक हाइड्रा फेसियलका लागि बनेका सिरमहरुचाहिँ महँगा नै हुन्छन् । इन्टरनेसनल मार्केटमा चलाउने सिरमहरुको प्राइस इन्टरनेटको माध्यमबाट हामी आफैँले थाहा पाउन सकिन्छ । नर्मल सिरम र किट प्रयोग गर्दाचाहिँ सस्तो हुन आउँछ । त्यस कारण कस्तो प्रडक्टको प्रयोग गरिरहेको छ भनेर हामीले पनि एकपटक रिसर्च गर्नु जरुरी छ ।

फेसियल हाउसमा पनि शुरुदेखि नै हाइड्रा फेसियल राखेका छौं । हामीकहाँ कतिपय कस्टमरहरु हाइड्रा फेसियल कस्तो हुन्छ, गरिहेरौं न त भनेर आउने गर्नुहुन्छ । हामी उहाँहरु आउनेबित्तिकै हुन्छ भनेर फेसियल गरिदिँदैनाैं ।

पहिला उहाँहरुको स्किन जाँच गरेर हेर्छौं र गर्न मिल्छ या मिल्दैन हेर्छौं अनि स्किनको प्रोब्लम अनुसार के गर्ने भनेर रिकमेन्ड गर्छाै । हाइड्रा फेसियल गरिसकेपछि कसरी होम केयर गर्नुपर्छ भनेर पनि सिकाउँछौं, जसले यसको प्रभावकारितालाई बढाउँछ ।

(लेखिका महरा फेसियल हाउसकी सञ्चालक हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्