सजीवन खाऊ, स्वस्थ रहू



अति नै पोषणले भरिपूर्ण वनस्पति हो सजीवन । हामी कहिलेकाहीँ यसको तरकारी बनाएर त खान्छौँ तर कुपोषित बालबालिका अथवा वयष्ककै लागि यो संजीवनी हो भन्ने तथ्य प्रायः हामीलाई थाहा छैन । तराईका घर–घरमा सजीवन हुन्छ, सडकका छेउमा पनि यसको रुख हुन्छ । तर यसको महत्व बुझेर प्रयोग गर्नेहरु कमै छन् । नेपालगन्जमा गणेश शर्माले सजीवनको बारेमा छलफल गर्दा आफ्नो अनुभव सुनाएका थिए । उनको अनुभव सुनेर त्यहाँ उपस्थित सबैजना छक्क परेका थिए । यसबाट थाहा हुन्छ कि सजीवनका बारेमा धेरै जना अनभिज्ञ छन् ।

सजीवनलाई कति जनाले शीतल चिनी पनि भन्छन् । संस्कृतमा यसलाई तीक्ष्णगन्धा भन्दा रहेछन् । भारत वा नेपालमा यसलाई कसैले मुङा र कतै सहिजन पनि भन्छन् । अंग्रेजी भाषामा मारिन्गा भनिने यो वनस्पतिको बारेमा विश्व स्वास्थ संघले पनि पछिल्लो चार दशकदेखि अनुसन्धान गर्दै छ ।

अनुसन्धानबाट पत्ता लागेको छ कि सजीवनमा रहेको प्रोटिन भटमास, दुध, अण्डामा जत्तिकै गुणकारी हुन्छ । अझ कति जनाले त भटमासमा भन्दा बढी गुणयुक्त प्रोटिन सजीवनमा पाइन्छ भन्छन् ।
अनुसन्धानबाट पत्ता लागेको छ कि सजीवनमा रहेको प्रोटिन भटमास, दुध, अण्डामा जत्तिकै गुणकारी हुन्छ । अझ कति जनाले त भटमासमा भन्दा बढी गुणयुक्त प्रोटिन सजीवनमा पाइन्छ भन्छन् । हामी स्वास्थ्यकर्मीले गर्भवती आमा र शिशुलाई दुध–अण्डा खान सल्लाह दिन्छौं । सजीवन खाऊ र स्वस्थ रहु, कुपोषणबाट बच र बचाऊ भन्न हिचकिचाउँछौं । किनभने हामीलाई भान्छाघरका खानेकुराबाट पनि धेरै प्रोटिन पाइन्छ भनेर सिकाइएको छैन । बरु घरको खानेकुराले शरीरमा प्रोटिन पुग्दैन भन्ने विज्ञापनमा हामी विश्वास राख्छौं ।
हामीलाई सजीवनको तरकारी मीठो हुन्छ भन्ने थाहा छ । ‘विराटनगरमा बस्दा त सजीवनको तरकारी खाइन्थ्यो तर यति धेरै पौष्टिक तत्व पाइन्छ भन्ने कहाँबाट थाहा पाउनु ?’ तराईबाट काठमाडौंमा पढ्न आएकी सुशीला शर्माले मलाई भनेकी थिइन् । उनलाई बज्यैले मीठो गरेर बनाएको सजीवनको तरकारीसँग मज्जाले भात खाएको याद रहेछ तर यसको पोष्टिक महत्वका बारेमा थाहा रहेनछ ।
सजीवनको पात पनि उत्तिकै पौष्टिक छ, यसमा कार्बोहाइट्रेट पनि हुन्छ । सजीवनको पातको तरकारीले शरीरमा ऊर्जा दिन्छ ।

साथै पातमा भिटामिन ‘सी’, पोटासियम आदि पनि पर्याप्त पाइन्छ । भिटामिन र सूक्ष्म पोषण तत्व राखेर प्रकृतिले सित्तैमा दिएको यो उपहार हो तर पनि यो पौष्टिक उपहार अपहेलित छ । अनि स्वास्थ्य मन्त्रालय पनि बालबालिका र गर्भवती आमालाई क्याल्सियम र प्रोटिन खानुपर्छ भनेर महँगो औषधि बाँडदै हिँड्छ तर समुदायका आमालाई करेसाबारीमा सित्तैमा पाइने सजीवन खानु भनेर सिकाउँदैन ।

सजीवनको बीउबाट बनाइएको तेल ओलिभ तेलजत्तिकै राम्रो हुन्छ भन्दा कमैलाई विश्वास लाग्छ । किनभने ओलिभ तेल त ठूला–ठूला पसलमा धेरै पैसा हालेर किनिन्छ । सजीवनबाट बनाइएको तेल त कसैले विज्ञापन नै गर्दैनन्, के राम्रो होला र भन्ने लाग्छ । ‘घरकी मुर्गी दाल बराबर’ भनेको यही होला । घरको आँगनमा सुनखानी भएर दरिद्री जीवन बिताएको मान्छेजस्तै हो, सजीवन
आँगनमा भएर कुपोषण हुनु भनेको ।
प्रतिक्रिया दिनुहोस्